समाजले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमहरुमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, अषाढ १५ । मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्र संघीय दातृ निकायहरुलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
नेपालका लागी संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७को तर्जुमा सम्बन्धि प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सिमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गर्नु भयो ।
उहाँले मानवीय विकास सुचकांकमा पछि परेका मधेश प्रदेशको आवश्यकतालाई पहिचान गरि गरिव दलित, महिला , मुस्लिम जस्ता लक्षित वर्गको कार्यक्रमहरु समेटनु पर्नेमा जोड दिनु भयो ।
कोरोना महामारी ताका संयुक्त राष्ट्र संघीय निकायहरुले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले छोरीहरुको शिक्षाका लागी प्रदेश सरकारले संचालन गर्दै आएको कार्यक्रममा भौतिक सहयोग सहितको कार्यक्रम ल्याउन सुझाव समेत दिनु भयो ।
विभिन्न क्षेत्रमा आ–आफनै पाराले काम गरि रहेको गैर सरकारी संस्थाहरुलाई एउटै छातामुनी ल्याउन प्रदेश सरकारले पहल गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले महिला बालबालिका मन्त्रालयमा एउटा छुट्टै शाखा राखेर एकीकृत योजना ल्याउनु पर्ने जिकिर गर्नु भयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसरकारका विभिन्न निकायका प्रमुख तथा पदाधिकारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरु सहितको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close